मालपोत कार्यालयमा मुख्य निर्वाचनको कार्यालय संचालनमा

१७ असोज । रामेछापमा मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ, सशस्त्र प्रहरी प्रमुख लगाएत अन्य कर्मचारीको उपस्थितमा कार्यालय संचालनमा ल्याइएको हो ।
आइतबार जिल्ला सदरमुकाम मन्थली स्थित मालपोत कार्यालयमा आउँदो मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचनको कार्यालय रामेछापका प्रमुख मधुकर शाहले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश इन्दिरा शर्माले कार्यालयको औपचारीक रुपमा उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन् भएसंगै दशैंको अबधिमा समेत कार्यालय खुल्ला हुने छ ।
आयोगले १५ गतेदेखि २० गतेभित्र कार्यालय संचालनमा ल्याउन निर्देशन दिएको थियो । गत स्थानीय तहको निर्वाचनमा पनि मालपोतमै कार्यालय संचालनमा ल्याइएको र यो पटक पनि सोही ठाउँमा कार्यालय स्थापना गरिएको हो ।
गत स्थानीय तहको निर्वाचनमा ९२ वटा मतदान केन्द्र रहेका थिए । यो पटक थप ४ वटा थपेर ९६ वटा कायम गरिएको छ । साथै निर्वाचन आयोगले आचारसंहिता पनि लागू गरेको छ ।